काठमाडौँ – रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत २३ वर्षीया कार्यालय सहयोगी कोइली शाह मृत फेला परेको घटनाको गहिरो अनुसन्धान गर्न शाहका परिवारले माग गरेका छन्। परिवारले प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष तथा पत्रकार परिचन्द्र खत्रीसहित केही व्यक्तिहरूविरुद्ध अनुसन्धानको माग गर्दै प्रहरीमा उजुरी पनि दिएका छन्।

शाह असार २८ गते बिहान आफ्नै डेरामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। मृत्युलाई रहस्यमय मान्दै परिवारले असार ३० गते जिल्ला प्रहरी कार्यालय, रुकुम पूर्वमा लिखित निवेदन दिएका हुन्। प्रहरी कार्यालयका प्रमुख डिएसपी उमाशंकर प्रसाद यादवका अनुसार हालसम्म किटानी जाहेरी भने परिएको छैन। “निवेदन आएको हो, तर किटानी जाहेरी परेको छैन,” डिएसपी यादवले मकालुखबरसँग भने, “घटनाको अनुसन्धान भइरहेको छ।”

शाह र पत्रकार खत्रीबीच प्रेम सम्बन्ध रहेको बताइएको छ। परिवारले सो सम्बन्धमा आएको तनावका कारण शाहले आत्महत्या गर्नुपरेको आरोप लगाएका छन्। घटनापछि खत्री मोबाइल बन्द गरेर सम्पर्कविहीन बनेका छन्।

शाहको अन्त्येष्टि परिवारले गरिसकेको भए पनि पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि मृतकको मोबाइल फोन र सामाजिक सञ्जालमा भएका गतिविधिहरू महत्त्वपूर्ण प्रमाण बन्न सक्ने डिएसपी यादवको भनाइ छ। “मोबाइलको प्राविधिक विश्लेषण र संलग्न हुन सक्ने व्यक्तिहरूको कल डिटेल रेकर्ड (CDR) निकाल्न जिल्ला अदालतबाट अनुमति लिने प्रक्रिया अघि बढाइएको छ,” उनले जानकारी दिए।