काठमाडौं— काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका योजना र कार्यक्रमहरू सार्वजनिक गरेकी हुन्।

बजेट अनुसार, २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषबाट खर्च गरिनेछ भने ६५ करोड रुपैयाँ अन्य बाह्य स्रोतहरूबाट जुटाइनेछ। बजेट प्रस्तुत हुनुअघि नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले आगामी वर्षका नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेका थिए।

बजेट ढिलाइमा उप–प्रमुखको माफी

संविधान अनुसार, स्थानीय तहले असार १० भित्र बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भए तापनि आन्तरिक विवादका कारण बजेट ढिलो भएको हो। उपप्रमुख डंगोलले बजेट ढिलो भएकोमा नगरवासीहरूसँग माफी माग्दै, आगामी योजना तथा कार्यक्रमहरू समयमै कार्यान्वयन गरिने प्रतिवद्धता जनाएकी छन्।

बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर व्यवस्थापन, हरित शहर प्रवर्द्धन, साइकल लेन निर्माण, स्मार्ट सडक, नगर प्रहरी सुदृढीकरण, तथा डिजिटल सेवा प्रवर्द्धन जस्ता क्षेत्रहरूमा प्राथमिकता दिइने अपेक्षा गरिएको छ।

अब प्रस्तुत बजेटलाई नगरसभाको छलफलपछि पारित गरिनेछ।