महोत्तरी– गौशाला नगरपालिका–१२ परोडियामा वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाबाट अवैध रूपमा रकम असुली गरी जग्गा पास गर्ने नाममा ठगी भइरहेको खुलासा भएको छ।
स्थानीय दीपेन्द्रबहादुर तामाङका अनुसार, वडा कार्यालयले गठन गरेको ५ सदस्यीय उपसमितिले प्रतिकिता ५० हजार रुपैयाँको दरले १०५ घरपरिवारबाट पैसा उठाउँदै आएको छ। उनले भने, "वर्षौंदेखि बसोबास गरिरहेको जग्गा नाममा पारिदिने भन्दै मौखिक रूपमा विश्वासमा पारेर रकम उठाइएको हो। तर, असुलिएको पैसाको कुनै लेखाप्रणाली छैन।"
९५ वर्षीय स्थानीय बासिन्दा भागवतनारायण झाले पुरानो सम्झना सुनाउँदै भने, “वर्षौंदेखि हामीले मनरा सिस्वाका जोगी सिंहबाट विश्वासमा जमिन किन्यौं। तर अहिलेसम्म नामसारी भएन। त्यसैले वडा कार्यालयले भनेअनुसार रकम जुटाएर बुझाएका हौं।”
उक्त जग्गा पूर्व गाविस भरतपुर–९, कित्ता नं. १४ मा पर्ने १३ बिघा १५ कट्ठा ५ धुर क्षेत्रफलमा फैलिएको छ। सो क्षेत्रमा १०५ घरपरिवार अव्यवस्थित रूपमा बसेका छन्।
गौशाला नगरपालिका–१२ का अनुसार, जग्गा बिक्री गर्ने जोगी सिंहको मृत्यु भइसकेकाले समस्या झन् जटिल भएको हो। तर, स्थानीयको माग र सहमतिका आधारमा जग्गा पास गर्ने प्रयास भइरहेको जनाइएको छ। वडाले भने रकम असुलीबारे कुनै जानकारी नरहेको र अहिले गम्भीर रूपमा छानबिन सुरु गरिएको जानकारी दिएको छ।
यता, राष्ट्रिय भूमि अधिकार मञ्च महोत्तरीका अध्यक्ष पिताम्बर महतोले अनधिकृत रूपमा रकम असुलीमा संलग्न उपसमितिका सदस्यलाई कानुनी दायरामा ल्याइने बताएका छन्। "यस विषयमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय भई दोषीहरूलाई कारबाही गरिनेछ," उनले भने। साथै उनले जग्गा नामसारीको प्रक्रिया अन्तिम चरणमा पुगेको र चाँडै सम्पन्न हुने जानकारी दिए।