काठमाडौं–नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकका तीन प्रमुख दलका शीर्ष नेताहरूको नेतृत्वमा अब देशको गम्भीर समस्याहरू समाधान हुन नसक्ने दाबी गरेका छन्।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँगको तस्बिर पोस्ट गर्दै भट्टराईले पुराना दलहरूको असफलता व्यवहारमै स्पष्ट भइसकेको टिप्पणी गरेका हुन्।
भट्टराईले नेपाली कांग्रेस र एमालेको गठबन्धनबाट बनेको वर्तमान सरकारको एक वर्षे कार्यकाललाई व्यङ्ग्यात्मक रूपमा समीक्षा गरेका छन्। उनले लेखेका छन्, "दुई ठूला दल मिलेर बनाएको सरकारको सबभन्दा ठूलो उपलब्धि भनेकै, जतिसुकै पटक पुराना दलले सरकार चलाए पनि उनीहरूबाट देशका गम्भीर संरचनात्मक समस्याहरू समाधान हुन नसक्ने कुरा आम जनताले बुझ्ने गरी व्यवहारमै देखिएको हो।"
उनले संस्थागत भ्रष्टाचार, बेरोजगारी, अल्पविकास, परनिर्भरता र वातावरणीय विनाशजस्ता समस्याहरू अझै पनि जस्ताको तस्तै रहेको बताए। विशेषगरी पूर्वसहकर्मी प्रचण्डप्रति आक्रोश व्यक्त गर्दै उनले तेस्रो ठूलो दलको भूमिकामाथि प्रश्न उठाएका छन्। “तेस्रो ठूलो दलका एकल सुप्रिमोले पटक–पटक च्याँखे थापेर सरकारको नेतृत्व गरे पनि समस्याको समाधान हुन नसकेको कुरा पहिल्यै स्पष्ट भइसकेको छ,” उनले लेखेका छन्।
भट्टराईले अब देशको राजनीतिक नेतृत्व नयाँ र वैकल्पिक शक्तिको हातमा आउने समय आएको दाबी गरे। “परिस्थिति हेर्दा, नेपाली इतिहासको कोर्टको बल अब ढिलो चाँडो वैकल्पिक शक्तिकै हातमा आउने निश्चित छ,” उनले उल्लेख गरे।
उनले अबको राजनीतिक विमर्श वैकल्पिक शक्तिको तयारीतर्फ केन्द्रित हुनुपर्ने बताए। साथै, सबै राजनीतिक पात्रले आत्मसमीक्षा गर्नुपर्ने समय आएको भन्दै उनले प्रश्न उठाएका छन्, “उनीहरूले त्यसको गम्भीर तयारी कसरी गर्छन् वा गर्नुपर्छ? अबको राजनीतिक बहस त्यही दिशामा जानुपर्छ।