चितवन — चितवनको नारायणघाट र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैंडाकोटलाई जोड्ने गरी नारायणी नदीमा निर्माण हुन लागेको आकर्षक 'सिग्नेचर ब्रिज'को डिजाइन दुई वर्ष बित्दासमेत तयार हुन सकेको छैन।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बन्ने यो नयाँ पुलको निर्माणका लागि २०८० जेठ २० मा तुँदी कन्स्ट्रक्सन प्रालिसँग १ अर्ब ६८ करोड रुपैयाँको लागतमा सम्झौता गरिएको थियो। सम्झौता अनुसार एक वर्षभित्र डिजाइन तयार गरेर तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तर अब तेस्रो वर्ष चलिरहँदा पनि पुलको पूर्ण डिजाइन अझै पेश भएको छैन।
सडक विभाग अन्तर्गतको पुल महाशाखाका प्रमुख, सुपरिटेन्डेन्ट इन्जिनियर ललिजन खनालका अनुसार चिनियाँ कन्सल्टेन्टमार्फत डिजाइनको अन्तिम काम भइरहेको छ। उनले सेतोपाटीसँग भने, “डिजाइन साउनभित्र नआए ठेक्का रद्द गर्ने प्रक्रिया सुरु गरिनेछ।”
खनालले ढिलाइको कारण नयाँ प्रविधिमा आधारित डिजाइन र निर्माण कम्पनीको कमजोरी दुवै भएको बताए। “नयाँ प्रविधिको पुल भएकाले डिजाइनमा समय लागेको हो तर ठेकेदारले पर्याप्त गम्भीरता पनि दखाएन,” उनले भने, “अब उससँग विकल्प छैन। बर्खा सकिनासाथ काम थाल्नैपर्छ।”
पुल निर्माणस्थलमा अहिले निर्माणका उपकरण र सामग्री पुगेका छन्। साउनभित्र डिजाइन स्वीकृत भई कार्यतालिका तयार पारिने र समयभित्र काम नगरे जरिवाना गर्ने नीति लागू गरिने खनालले बताए।
निर्माण कम्पनीका साइट इन्जिनियर मञ्जिल मिश्रका अनुसार भारतीय कन्सल्टेन्टले बनाएको प्रारम्भिक डिजाइनमा ठूलो परिमाणमा परिवर्तन गर्नुपर्ने देखिएपछि चिनियाँ इन्जिनियर डा. चेन डुवेईमार्फत नयाँ डिजाइन तयार पार्न थालिएको हो।
“पहिलो चरण अर्थात् जगको डिजाइन पेस भइसकेको छ,” मिश्रले भने, “अबका ४० दिनभित्र बाँकी दुई चरणको डिजाइन पनि पेस गर्नेछौं।
नारायणी नदी चुरे क्षेत्रसँग जोडिएको र भूकम्प जोखिमयुक्त देखिएकाले सुरक्षित संरचना बनाउन डिजाइन परिमार्जन गर्नुपरेको उनले बताए। साथै, गत वर्षको ठूलो बाढीको स्तर कन्सल्टेन्टले अनुमान गरेभन्दा माथि देखिएपछि पनि डिजाइन फेरबदल गरिएको हो।
पुलको तल्लो भागबाट पानीजहाज प्रवेश गर्नसक्ने बनाउनुपर्ने सरकारी नीतिबारे स्पष्ट मापदण्ड नहुनुले समेत ढिलाइमा भूमिका खेलेको मिश्रले बताए। “पानीजहाजको कुरा भइरहँदा मापदण्ड थिएन। पछि भारत र बंगलादेशको अभ्यासलाई आधार मान्यौं,” उनले भने।
मिश्रका अनुसार सामान्यतया डिजाइन स्वीकृत भएपछि मात्रै निर्माण सुरु गरिने भए पनि यो पुलमा ‘लोड-बेअरिङ’ संरचनाका कारण जगको डिजाइन स्वीकृत हुनासाथ काम थाल्न सकिन्छ। तर बर्खा सुरु भइसकेकाले अब वर्षा सकिएपछि मात्र काम सुरु गर्न सकिने बताइएको छ।
डिजाइन ढिलाइका कारण कुल निर्माण अवधि सम्झौताभन्दा करिब एक वर्ष लम्बिने अनुमान गरिएको छ।
नारायणीमा निर्माण हुन लागेको यो सिग्नेचर ब्रिज नेपालमै पहिलो दुई मुख्य पिल्लर र केबल सपोर्ट भएको ढाँचामा बन्ने हो। यसको लम्बाइ ४२० मिटर र चौडाइ साढे ७ मिटर हुनेछ, जसमा साढे ३ मिटरको फुटपाथ पनि समावेश रहनेछ।
पुल निर्माणस्थलमा सन् २०३८ मा शिलान्यास गरिएको हालको पुल अझै कायम राखिनेछ। नयाँ पुल २०८१ वैशाख ३१ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले शिलान्यास गरेका थिए।
चितवन सडक डिभिजनका इन्जिनियर कृष्ण आचार्यका अनुसार नयाँ पुल सञ्चालनमा आएपछि दुई पुलको प्रयोग समन्वयमा हुनेछ। नारायणी नदीमा यो आधुनिक संरचना बनेपछि पूर्व–पश्चिम यातायात प्रणालीमा महत्वपूर्ण सुधार आउने अपेक्षा गरिएको छ।