जनकपुर – आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गर्न एक साताभन्दा कम समय बाँकी रहँदा पनि मधेश प्रदेशमा राजनीतिक दलहरूबीच अझै बजेटमाथि छलफल गर्ने सहमति जुट्न सकेको छैन। बिहीबार बसेको प्रदेश सभा बैठक पनि केवल १० मिनेटमै स्थगित भएको छ।

२२ असारदेखि प्रदेश सभाको बैठकहरू लगातार बसिरहे पनि विपक्षी दलहरूको अवरोधका कारण पाँचौँपटक पनि बजेटमाथिको छलफल अघि बढ्न सकेन। विपक्षी दलहरूले बजेटमा बिचौलियाको प्रभाव रहेको र वितरण असमान भएको भन्दै पुनर्लेखनको माग गर्दै आएका छन्।

बिहीबारको बैठक अघि सत्तापक्ष र विपक्षी दलहरूबीच बजेटका त्रुटिहरू सच्याउने विषयमा छलफल भएको थियो। त्यस क्रममा सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति पनि भएको थियो।

तर, कार्यदलमा भौतिक पूर्वाधारमन्त्री सरोज यादवलाई राखिएकोमा विपक्षी दलहरूले आपत्ति जनाएपछि बैठक फेरि अवरुद्ध भयो। विरोधपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरे।

कार्यदलमा सत्ता पक्षबाट मन्त्री सरोज यादव र कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव छन्। विपक्षीबाट जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादव, माओवादी केन्द्रका जवाहरलाल कुशवाहा, र नेकपा (एकीकृत समाजवादी) का मनीष पटेल सदस्य छन्।

सभामुखको कार्यकक्षमा बसेको अनौपचारिक बैठकमा पनि सहमति जुट्न नसकेपछि प्रदेश सभा शनिबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले बजेट छानबिन गर्न बनेको कार्यदलमा मन्त्रीलाई राख्नु अनुपयुक्त भएको बताए। तर मुख्यमन्त्री सतीशकुमार सिंहले भने, “कार्यदलमा मन्त्री नराख्ने सहमति भएको थिएन। अहिले मन्त्रीको नाम राखिएकोमा विपक्षीले अनावश्यक बखेडा झिकेर सदन अवरुद्ध गरिरहेको छ।”

१ असारमा सार्वजनिक गरिएको बजेटमाथि हालसम्म ११ असारमा मात्र एकपटक औपचारिक छलफल भएको छ।