सिन्धुली — लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिएको छ।

सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित भिमान बसपार्कमा बिहीबार गरिएको ट्राफिक चेकजाँच तथा स्वास्थ्य परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा मधेश प्रदेश ०४–००१ क ००३२ नम्बरको ट्रक चलाइरहेका कमलामाई–४ का २८ वर्षीय सन्तोष अछामी, बा ३ ख ४९८० नम्बरको बसका चालक जनकपुर–२३ का ४७ वर्षीय विजय कुमार ठाकुर, तथा बा ४ ख ३८८९ नम्बरको टिपर चलाइरहेका कटारी–४ का २७ वर्षीय बिमल तामाङ छन्।

त्यसैगरी, दुधौली–९ निवासी ५४ वर्षीय शंकर तामाङ (बा २ ख ५९६१ नम्बरको बस चालक), दुधौली–१४ का २३ वर्षीय पदम बहादुर कार्की (बा २ ख ७२१४ नम्बर टिपर चालक) र बर्दिवास–३ का ३० वर्षीय लक्ष्मण भण्डारी (बा ४ ख ६५ नम्बरको बस चालक) पनि पक्राउ परेका छन्।

सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार चेकजाँचका क्रममा कुल ७४ वटा सवारीसाधन र चालकहरूको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ती ६ जना चालकले लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि पक्राउ गरिएको हो।

प्रहरीले सवारी सुरक्षामा खलल पुर्‍याउने यस्तो गतिविधि विरुद्ध नियमित निगरानी बढाइने जनाएको छ।