सुर्खेत – सुर्खेत प्रहरीले पाँच किलोभन्दा बढी अफिमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्राप्त गोप्य सूचनाका आधारमा भेरीगंगा नगरपालिका–१० तालबारीमा निगरानी गर्दा बुधबार साँझ करिब साढे ६ बजे बस्नेतलाई पक्राउ गरिएको हो। चेकजाँचका क्रममा उनको झोलाभित्र लुकाइ राखिएको ५ किलो ५४० ग्राम अफिमजस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बस्नेतको साथबाट एक थान डिजिटल तराजु, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका ५ थान चेक धितो, र नगद ४,७३० रुपैयाँ पनि बरामद गरिएको छ। उनलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ।
प्रहरीका अनुसार बस्नेतले जाजरकोटलगायत पहाडी क्षेत्रबाट अफिम संकलन गरी सीमावर्ती क्षेत्रतर्फ लैजाँदै गरेका थिए। बरामद अफिमको अनुमानित बजार मूल्य करीब ८ लाख ८६ हजार रुपैयाँ रहेको बताइएको छ।