काठमाडौँ – झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा संगठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरुले छानबिनको माग गरेका छन् । 

स्थानीय तथा संचारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू टावर निर्माणको नाममा सार्वजनिक सम्पत्ति हिनामिना गर्न खोजेको भन्दै छानबिन गर्न माग गरेका छन् ।

तत्कालिन ओली नेतृत्वको सरकारले गौरवको योजनाको रुपमा निर्माण गरेको उक्त भ्यू टावरसम्बन्धी सम्झौता पनि सार्वजनिक गर्न मेयाङ्ग्वोले माग गरे । 

दमक नगरपालिका–३ मा १८ तले भ्यू टावर ४ बिघा १८ कठ्ठा ७ धुरमा निर्माण गरिएको छ । भ्यू टावर निर्माणको लागि २०७३ सालतिर माँ पञ्चकन्य हाउजिङ प्रा.लि.लाई करिब ४ बिघा १८ कठ्ठा, ७ धुर जग्गा दमक नगरपालिकाले उपलब्ध गराएको थियो । स्थानीय विकास र पर्यटन प्रवद्धनको अपेक्षा गरेर सार्वजनिक प्रयोजनको लागि कम्पनीलाई दिइएको थियो । 

तर, अहिले कम्पनीले भ्यू टावर निर्माण गरिएको २ बिघा जग्गा सापटीस्वरुप फिर्ता र २५ कठ्ठा जग्गा वापतको मौद्रिक क्षतिपूर्ति माग गरेर पुनः स्वमित्व दाबी गरेपछि नयाँ बिबाद सिर्जना भएको छ । जनप्रतिनिधि नभएको बेला नगरपालिकाले कसरी उक्त कम्पनीलाई सो जग्गा दियो भन्ने कुरा अहिलेसम्म खुलेको छैन ।  

सोही विषयलाई लिएर पत्रकार मेयाङ्ग्वोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन् । उनले नगरपालिका र कम्पनीबीच सम्झौता नभेटिएको तर कम्पनीले मौद्रिक मूल्य फिर्ता माग गर्नुले गोप्यरुपमा सार्वजनिक सम्पत्ति व्यक्तिगत लाभमा प्रयोग भएको देखिएकोले छानबिनको आफूले माग गरेको जानकारी समेत दिए । 

‘सो जग्गा कुनै प्रस्ताव, सम्झौता, खुला प्रतिस्पर्धा वा सार्वजनिक मापदण्ड बिना निजी कम्पनिलाई दिएको देखिन्छ, नगरपालिकाले कुनै सम्झौता भएको छैन, सार्वजनिक सम्पत्ति व्यक्तिले लाभ लिने गरी संगठितरुपमा भ्रष्टाचार भएको देखिन्छ । अहिले पुनः स्वमित्व दाबी गरेकोले छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको हुँ’ मेयाङ्ग्वोले पत्रकार सम्मेलनमा भने । उनले अख्तियारले छानबिन अगाडि बढाउने समेत अपेक्षा गरे । 

भ्यू टावर निर्माणको विषयलाई पादर्शी बनाउन आफूले लामो समयदेखि माग गर्दै आएको तर नगरपालिकाले कुनै कागजात देखाउन नसकेको मेयाङ्ग्वोले बताए । उनले कम्पनीले माग दाबी गरेअनुसारको जग्गा र मौद्रिक क्षतिपूर्ति दिन नहुने समेत बताए ।