काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको स्पेन भ्रमणसँग जोडिएको विषय संसदमा विवादको कारण बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले भ्रमणमा सहभागी भएका केही व्यक्ति स्वदेश नफर्किएको दाबी गरेपछि सत्ता र प्रतिपक्षका सांसदबीच चर्को भनाभन भएको हो।
गौतमले मंगलबारको प्रतिनिधिसभा बैठकमा भिजिट भिसा दुरुपयोगको विषय उठाउँदै, हालै सम्पन्न स्पेन भ्रमणका क्रममा समेत "केही व्यक्तिहरू उतै रोकिएको" समाचार आएको दाबी गरिन्। उनले यस्तो विषय गम्भीर भएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरिन्।
“प्रधानमन्त्री सहभागी कार्यक्रमको नाममा गएका केही प्रतिनिधि स्वदेश फर्किएका छैनन् भन्ने समाचार आएका छन्। यस्तो विषयमा सरकारले कनिष्ठ कर्मचारी सम्मिलित प्रशासनिक समिति बनाएकोमा हाम्रो गम्भीर आपत्ति छ।”
गौतमको अभिव्यक्तिपछि रास्वपाका सांसदहरूले संसद बैठक बहिस्कार गरेका थिए।
गौतमको भनाइप्रति आपत्ति जनाउँदै एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदमा तथ्यहीन र भ्रामक कुरा उठाइएको भन्दै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे।
“प्रधानमन्त्रीलाई मुछ्दै कपोलकल्पित आरोप लगाउनु गम्भीर कुरा हो। को–को फर्किएनन् भनेर प्रमाणसहित स्पष्ट नभई यस्ता आरोप संसदमा गर्नु आपत्तिजनक छ।”
एमालेले प्रधानमन्त्रीको बचाउ गरेपछि माओवादी केन्द्र का सचेतक हितराज पाण्डेले असन्तोष व्यक्त गरे। उनका अनुसार संसदमा उठेका प्रश्नहरूको उत्तर सरकार, मन्त्री वा प्रधानमन्त्रीले दिनुपर्छ, सांसदले होइन।
“सरकारसँग जवाफ मागिएको हो, न कि एमालेसँग। यो संसदको अपमान हो,” पाण्डेले भने।
विवाद बढेपछि सभामुख देवराज घिमिरेले सबै सांसदलाई जिम्मेवार ढंगले अभिव्यक्ति दिन आग्रह गर्दै सो विषय आफ्नो ध्यानमा आएको जानकारी गराए।
प्रधानमन्त्री केपी शर्मा ओली असार १६ देखि २० गतेसम्म स्पेनको बार्सिलोनामा सम्पन्न संयुक्त राष्ट्रसंघको चौथो अन्तर्राष्ट्रिय विकास वित्त सम्मेलनमा सहभागी हुन गएका थिए। सोही भ्रमणका क्रममा प्रतिनिधिमण्डलमा गएका केही व्यक्ति फर्किएनन् भन्ने समाचार सार्वजनिक भएपछि संसदमा यो विवाद उत्पन्न भएको हो।
सांसद गौतमको दाबी र त्यसप्रति उठेका प्रतिक्रियाहरूले भ्रमण प्रतिनिधिमण्डलको पारदर्शिता, भिजिट भिसा दुरुपयोग तथा संसदीय मर्यादा माथि प्रश्न उठाएका छन्। अब सरकारको औपचारिक जवाफ र छानबिनको अपेक्षा गरिएको छ।