काठमाडौं  – प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने क्षेत्रमा लगानी नगर्न चेतावनी दिएका छन्। आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले वैदेशिक ऋण लिएर उपयोगहीन परियोजनामा लगानी गर्नु उचित नहुने बताए।

सांसद सिंहले भने, “जहाँ आम्दानी हुने सम्भावना छैन, त्यहाँ विदेशी ऋण प्रयोग गर्नु बुद्धिमानी होइन। ऋण लगानीको स्रोत हो, तर अहिले भ्रष्टाचारको साधनझैं प्रयोग भइरहेको छ।”

उनले भौतिक पूर्वाधार जनसंख्याको घनत्वअनुसार निर्माण गरिनुपर्नेमा जोड दिए। "जहाँ जनसंख्या बढी छ, त्यहीँ पूर्वाधार बनाउँदा प्रयोग पनि बढी हुन्छ", उनले स्पष्ट पारे।

भैरहवा र पोखरामा निर्माण गरिएका विमानस्थलमा गम्भीर अनियमितता भएको दाबी गर्दै उनले त्यसको छानबिन आवश्यक रहेको बताए। “मधेस प्रदेशमा ठूलो जनसंख्या छ, तर विमानस्थल छैन। भैरहवामा छ, एउटै प्रदेशमा दुई विमानस्थल बनेका छन्, तर प्रयोगमा छैनन्। यस्ता संरचनाहरू प्रभावकारी ढंगले प्रयोग हुने बनाउनुपर्छ,” उनले भने।

उनले वैदेशिक ऋणमार्फत बनेका पूर्वाधारले मुलुकलाई प्रत्यक्ष आम्दानी दिन सक्नुपर्नेतर्फ समितिको ध्यानाकर्षण गराएका थिए।