काठमाडौं - एसिसी मेन्स यु–१६ प्रतियोगितामा नेपालले भुटानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
मंगलबार मलेसियाको सिलेगंर ट्रफ क्लबमा भुटानविरुद्ध नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर ब्याटिङ रोजेका हुन् ।
नेपालले अझसम्म खेलेको तीनै खेलमा जित हासिल गरेको छ । आफ्नो समूहको शीर्ष स्थानमा रहेको नेपाल सेमिफाइनल पुगिसकेको छ । नेपाल रहेको समूहबाट सिंगापुर पनि सेमिफाइनल प्रवेश गरिसकेको छ ।
नेपालले पहिलो खेलमा सिंगापुर, दोस्रोमा जापान तथा तेस्रोमा इण्डोनेसियालाई हराएको थियो ।
अर्कोतर्फ भुटान खेलेका तीनै खेलमा पराजित भएको छ । सिंगापुर, जापान र इण्डोनेसियासँग पराजित भुटान समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरी सकेको छ ।
एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता छ । सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार छन् । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ .