सिराहा — ग्लोबल आइएमई बैंकको नौ लाख रुपैयाँ लुटपाटको घटनामा संलग्न रहेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजेन्द्र लोहनी (सुजन) हुन्।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार, लोहनी २०७९ साल फागुन १० गते सिराहाको मिर्चैया नगरपालिका–३ स्थित बतहा पुलमा भएको लुटपाट घटनामा संलग्न थिए। उनी भारतमा लुकेर बसेको अवस्थामा आज सिराहा नगरपालिका–१७, खैरटोकाबाट विशेष प्रहरी टोलीद्वारा पक्राउ परेका हुन्।
उक्त दिन मिर्चैया शाखाबाट बैंकका कर्मचारीले ल्याउँदै गरेको ९ लाख रुपैयाँ लोहनीसहित चारजनाको समूहले पेस्तोल देखाई लुटेका थिए। उनीहरूले यामाहा र अपाचे मोटरसाइकलमा आएर इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी जवान निकेश खवासलाई कुटपिट गर्दै बैंक कर्मचारीसँग रकम लुटेर फरार भएका थिए।
घटनाको अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानले जानकारी दिए। पक्राउ परेका लोहनीलाई जिल्ला अदालत सिराहामा प्रस्तुत गरी कानुनी प्रक्रिया अगाडि बढाइएको उनले बताए।