काठमाडौं - काठमाडौंको टोखामा गएराति गाडीसहित बगेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ। बुधबार राति १० बजेको समयमा काठमाडौंको टोखा नगरपालिका– ६ ग्रान्डी अस्पतालपछाडि विष्णुमती खोला किनाराबाट बा।प्र०१–०३१ च ६१४१ नम्बरको निजी कार अचानक खोलामा खसेको थियो ।
काठमाडौंको धुम्बाराही बस्ने अंकुश सिंहले चलाएको कारबाट भावना ओली गाडीसहित बगेका थिए । चालक खोला किनारामा हाम फाल्न सफल भएका थिए भने गाडीभित्र सवार ओलीलाई खोलाले बगाएको थियो ।
बानियाँटार पुलमा आइपुगी गाडी अड्किएको अवस्थाबाट महिलाको उद्धार गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार उद्धार गरिएकी महिला दाङ घर भई हाल टोखा बस्दै आएकी थिइन्।
उनलाई प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि ग्रिनसिटी अस्पताल पठाएको छ । क्रेनको सहायताले खोलाभित्र रहेको कारसमेत बाहिर निकाली प्रहरी प्रभाग नयाँ बसपार्कमा राखिएको प्रहरीले जनाएको छ ।