बुटवल— रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि दुई अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५८२ रुपैयाँको बजेट ल्याएको छ ।
नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले सोमबार दोस्रो नगरसभाको सातौं अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा चालुतर्फ एक अर्ब २९ करोड ४० लाख ७२ हजार अर्थात् ४४.१७ प्रतिशत र पूँजीगततर्फ एक अर्ब ६३ करोड ५२ लाख ९९ हजार ५८२ रुपैयाँ अर्थात् ५५.८३ प्रतिशत हुने अनुमान गरिएको छ ।
बजेट वक्तव्यमा उपप्रमुख चौधरीले बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ३३ करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा बचतबाट दुई अर्ब ५९ करोड ९३ लाख ७१ हजार ५८२ रुपैयाँ प्राप्त हुने लक्ष्य लिइएको उल्लेख गरिन् । तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा १६ करोड बढीको बजेट ल्याएको हो ।
बजेटमा शिक्षा र सामाजिक विकास क्षेत्रमा ९९ करोड ४२ लाख ५२ हजार ५८२ विनियोजन भएको छ ।
यस्तै दूधमा दिइदै आएको प्रति लिटर दुई रुपैयाँ अनुदानको लागि ७० लाख सहित समग्रमा आर्थिक विकास क्षेत्रमा ६ करोड १९ लाख ५० हजार विनियोजन भएको छ ।
एक वडा एक किलोमिटर सडक निर्माणका लागि १५ करोड, तिलोत्तमा बहुउदेश्यीय भ्यू टावरको निर्माण सम्पन्न र संचालन गर्न एक करोड, सिटी कलेज संचालन व्यवस्थापनको लागि ५० लाख, केउलानीमा रहेको हलमा स्किल ट्रेनिङ सेन्टर स्थापनको लागि २५ लाख विनियोजन भएको छ ।
वडा भवन निर्माण गर्न ३ करोड र सम्पन्न नभएका वडा कार्यालय बाउन्ड्री वाल, सभाहल लगायतका संरचना सम्पन्न गर्न दुई करोड , सडकको मर्मत सम्भार गर्न, सड्कलाई खाल्टा खुल्टी मुक्त बनाउन यस वर्ष पूर्वाधार एम्बुलेन्स तथा मेशिनरी औजार खरिद गर्नको लागि दुई करोड सहित समग्रमा पूर्वाधार विकास क्षेत्रमा ९७ करोड ५८ लाख ३९ हजार विनियोजन भएको उपप्रमुख चौधरीले बताइन् ।




































