धरान — सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजासहित एक मालबाहक ट्रक बरामद गरेको छ।


सशस्त्र प्रहरी बल नं. ४ गण, सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मलकुमार थापाका अनुसार सोमबार कोशी लोकमार्गस्थित शिवधारमा सशस्त्र प्रहरी बेस क्याम्प धरानबाट खटिएको एसपी सन्जीव पौडेलको नेतृत्वमा टोलीले चेकजाँचका क्रममा धनकुटाबाट धरानतर्फ आइरहेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा लुकाएर राखिएको गाँजा फेला पारेको हो।


ट्रकमा अदुवा र बन्दाकोपी ल्याउने बहानामा गाँजा लुकाइएकाे थियाे। चेकजाँचमा ७० बोरा अर्थात् करिब २ हजार १३० केजी गाँजा बरामद भएको एसपी थापाले जानकारी दिए। साथै उक्त ट्रकबाट ३१ बोरा अदुवा र ६ बोरा बन्दाकोपी पनि बरामद गरिएको छ।


गाँजा तस्करीमा प्रयोग भएको ट्रकका चालक भने घटनास्थलबाट फरार भएका छन्। ट्रकका कागजातको आधारमा संलग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।


बरामद गरिएको गाँजा र ट्रक आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ।