काठमाडौं  — प्रतिनिधिसभाको सोमबारको बैठकमा बजेटमाथिको छलफल जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको नाराबाजीबीच नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले संसदको मर्यादा उल्लंघन भएको भन्दै नियमापत्ति जनाएका छन्।


माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बजेटसम्बन्धी धारणा राखिरहेका बेला थापाले उठेर प्रतिनिधिसभा नियमावलीको नियम २० को उल्लेख गर्दै सभामुखको ध्यानाकर्षण गराए। उनले संसदको अवस्था प्रष्ट नहुँदा आफू कुन स्थानमा बसेको हो भन्ने समेत थाहा नपाएको बताए।


थापाले भने, “हामी रत्नपार्कमा छौं कि शहीदगेटमा, कलंकीमा छौं कि पोखराको चिप्लेढुंगामा — मलाई केही थाहा छैन। कुर्सी रोइरहेका छन्, माननीय सदस्यहरूलाई कुर्सीले भेट्न सकेको छैन।”


उनको टिप्पणी रास्वपाका सांसदहरूको अवरोधप्रति इंगित थियो। शक्ति बस्नेत बोल्दै गर्दा चुपचाप बसेका रास्वपा सांसदहरू थापा बोल्न थालेपछि फेरि नाराबाजीमा उत्रिएका थिए। सभामुख देवराज घिमिरेले थापाको कुरा सुनेको जानकारी दिँदै उनीलाई बस्न आग्रह गरे भने बस्नेतलाई धारणा जारी राख्न अनुमति दिए।


सभामुखको भनाइपछि थापा बसे र बस्नेतले पुनः बोल्न थाले। त्यसपछि रास्वपा सांसदहरू पनि शान्त बसे।


बैठक सुरु हुनेबित्तिकै रास्वपा र राप्रपाका सांसदहरू आ–आफ्नो स्थानबाट उभिएका थिए। तर बैठक अवरुद्ध नहुँदा रास्वपा सांसदहरू वेल अगाडि गएर नाराबाजीमा उत्रिए भने राप्रपाका सांसदहरू भने कक्षबाट बाहिरिए।


नाराबाजी र अवरोधबीच पनि संसदमा बजेटमाथिको छलफल भने अविच्छिन्न रूपमा जारी रहेको छ।