काठमाडौँ — गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षका लागि नेपाल प्रहरीको बजेटमा उल्लेखनीय वृद्धि गरिएको बताएका छन्।काठमाडौंमा आयोजित अनुसन्धानकर्ता प्रहरी र सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले प्रहरी संस्थाको आधारभूत आवश्यकता पूरा गर्न सरकार गम्भीर रहेको स्पष्ट पारे।
उनका अनुसार, चालू वर्षहरूमा देखिँदै आएको तलब, पोसाक र रासनसम्बन्धी बजेट अभावको समस्या अब दोहोरिने छैन। विगतमा ८ देखि ९ महिनासम्म मात्र बजेट व्यवस्थापन भई बाँकी महिनामा गृह तथा अर्थ मन्त्रालयबीच जटिलता देखिने गरेको भए पनि यस पटक वर्षभरिका लागि एकमुष्ट बजेट विनियोजन गरिएको छ।
गृहमन्त्री लेखकले भने, “यसपटक तुलनात्मक रूपमा नेपाल प्रहरीतर्फको बजेटमा सुखद वृद्धि भएको छ। यद्यपि यो अत्यधिक ठूलो वृद्धि नभए पनि मुलुकको स्रोत र साधनको सन्दर्भमा सन्तोषजनक छ।”
उनले अनुसन्धानमा प्रविधिको प्रयोग, शान्ति सुरक्षा कायम गर्न, ‘ल एन्ड अर्डर’ व्यवस्थापन तथा आवश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्न पनि कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए।
गृहमन्त्री लेखकले प्रहरी संगठनले अब प्रविधिको भरपुर उपयोग गर्दै अनुसन्धानलाई थप स्वच्छ, पारदर्शी र भरपर्दो बनाउनुपर्ने आवश्यकता औंल्याए।
उनले भने, “बजेटको व्यवस्था त भयो, अब त्यसअनुसार परिणाम पनि आउनुपर्छ। अनुसन्धान प्रभावकारी बनाउन प्रविधि अपरिहार्य छ।”
गृहमन्त्रीको भनाइ अनुसार, सुरक्षा प्रणालीलाई व्यवस्थित र दक्ष बनाउन दीर्घकालीन सोचसहित बजेटको विनियोजन गरिएको छ, जसले प्रहरी प्रशासनको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।