पोखरा — पोखरामा एक सुनचाँदी व्यवसायीलाई यौन दुर्व्यवहारको आरोपमा फसाई आर्थिक लाभ लिन खोज्ने आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा–१५ टुटुङ्गाकी २७ वर्षीया मरियम राई, मोरङ विराटनगरका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका–२ का ४० वर्षीय टेकबहादुर सुवेदी रहेका छन्।
कास्की प्रहरीका अनुसार मरियम राई पोखरा महानगरपालिका–४ मा रहेको एक सुनचाँदी पसलमा काम गर्थिन्। उनले लिम्बु र सुवेदीसँग मिलेर पसल सञ्चालकलाई यौन दुर्व्यवहारमा फसाउने धम्की दिँदै ५० लाख रुपैयाँ माग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
राईले पसल सञ्चालककी श्रीमतीलाई लेकसाइडस्थित एक होटलमा बोलाएर, ‘जिन्दगीभर पुग्ने सम्पत्ति, बसोबासको व्यवस्था र व्यवसायको सुविधा मिलाइदिनुहोस्, नभए तपाईंको श्रीमानमाथि मुद्दा चलाएर फसाइदिन्छौं’ भन्दै धम्की दिएकी थिइन्। सोही क्रममा उनीहरूले ५० लाख रुपैयाँ माग गरेका थिए।
घटनाबारे सूचना पाएपछि प्रहरीले तीनै जनालाई आवश्यक प्रमाणसहित पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार अभियुक्तहरूलाई अडियो र कागजातसहित आपराधिक विश्वासघात तथा ब्ल्याकमेलिङ (एक्सर्टसन) अभियोगमा पक्राउ गरिएको हो।
उनीहरूविरुद्ध जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।