काठमाडौं— बागमती प्रदेशमा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको सम्बन्धित कार्यालयका कर्मचारीले बताएका छन् । घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्रीमा आएको गिरावटसँगै लक्ष्यअनुरूप राजस्व संकलन हुन नसकेको हो ।
घरजग्गा रजिस्ट्रेसन (मालपोत) र सवारी कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकबाट आर्थिक वर्ष २०८१/८२ मा रु. २९ अर्ब ५५ करोड ८९ लाख राजस्व संकलन हुने अनुमान गरिएकामा नौ महिनामा रु. १६ अर्ब ७४ करोड २० लाख ८६ हजार मात्र संकलन भएको छ ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालका अनुसार आव २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसनबाट रु. सात अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकामा नौ महिनामा रु. तीन अर्ब ३९ करोड ७१ लाख ७० हजार संकलन भएको छ ।
त्यसै गरी, सवारीसाधन जाँच पास, ‘रुट परमिट’, सवारी चालक अनुमतिपत्र जारी तथा नवीकरणअन्तर्गत सवारीकारबापत आव २०८१/८२ मा रु. सात अर्ब ५० करोड राजस्व संकलनको लक्ष्य निर्धारण भएकामा नौ महिनामा रु. चार अर्ब ९३ करोड ५४ लाख ८९ हजार मात्र संकलन भएको छ ।
मूल्य अभिवृद्धि कर (भ्याट)बापत रु. आठ अर्ब ६१ करोड ८५ लाख प्राप्त हुने अनुमान गरिएकामा रु. पाँच अर्ब ६४ करोड ८१ लाख संकलन भएको छ भने अन्तस्शुल्क करबापत रु. तीन अर्ब ६९ करोड ३६ लाख प्राप्त हुने अनुमान गरिएकामा रु. एक अर्ब ९२ करोड ४१ लाख २१ हजार मात्र असुली भएको छ ।