काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले होली पर्वले अन्यायविरुद्ध लड्न प्रेरणा दिने बताएका छन् ।
विहीवार रास्वपाको केन्द्रीय कार्यलयमा आयोजना गरिएको होली मिलन कार्यक्रममा बोल्दै उनले पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको अन्यायविरुद्ध लड्न होली पर्वले प्रेरणा दिने अपेक्षा व्यक्त गरे ।

‘होली न्यायको प्रतिक पर्व हो । अन्याय गर्नेहरु अन्याय गरिरहन चाहन्छन् । तर कुनै एउटा क्षण आउँछ अन्याय सकिएर न्यायको सुरुवात हुन्छ । होली त्यसैको प्रतिबिम्व हो । अहिलेको राजनीतिक परिवेशमा सभापतीमाथि कानूनी हतियार प्रयोग भएर मुद्दाहरु चलिरहेको छ । त्यो एकप्रकारको अन्याय हो । सरकारले एउटा व्यक्तिलाई एउटा मुद्दाले हुने ठाउँमा १८ वटा मुद्दा लगाएर जिल्ला जिल्ला घुमाइरहेको छ । त्यो एउटा अन्याय हो । त्यसैले अन्याय विरुद्ध लड्न होलीले प्रेरणा दिन्छ र न्याय दिने काम गर्छ ।’
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले होलीलाई गौरवका रुपमा मनाउनुपर्ने बताएका छन् । आगामी पुस्ताले पनि यो पर्वलाई गौरव गर्नेगरी मनाउनुपर्नेमा जोड दिएका हुन् ।
‘संस्कृति र परम्परा हाम्रो सम्पत्ति हुन् । गौरव गर्ने भनेकै हाम्रा संस्कार, संस्कृति, धर्म हो । यो रङहरुको पर्वले नेपालीहरुको मौलिकता झल्काउँछ । सौहार्दपूर्ण वातावरणमा होली मनाउनुपर्छ,’उनले भने ।