कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । दुई दशकदेखि तरकारीखेती गर्दै आएका उनले डेढ बिघा जग्गा भाडामा लिएका छन् । वर्षमा सार्कीले रु सात लाख बढीको तरकारी बिक्री गरी गतिलो आम्दानी लिँदै आएका छन् । तरकारीखेतीको कमाइबाट चार जनाको परिवारको खर्च समेत धानेका छन् ।

अरुको जग्गामा बस्दै आएका सार्कीले तरकारीखेतीबाट आएको आम्दानीबाट घरबासका लागि एक कट्ठा जग्गा खरिद गरेका छन् । ‘तरकारीखेतीको आम्दानीको रकम खर्च गरी छोरीको बिहे गरेँ’, सार्कीले भने, ‘जग्गा खरिद गर्दा लागेको ऋण तिर्न भ्याएँ, घरको पूरै खर्च तरकारीखेतीले धानिएको छ ।’

OM Sai Pathibhara Hospital

तरकारीखेती नै कमाइ गर्ने एकमात्र माध्यम रहेको सार्की बताउँछन् । पहिले नदीको बगरमा सार्कीले मौसमी रूपमा तरकारीखेती गर्थे । बगरखेती गर्दै जाँदा व्यावसायिक खेती गर्ने हिम्मत जागेको उनी बताउँछन् । आफन्तबाट केही रकम सापटीका रूपमा लिएर तरकारीखेती गरेको विगत सम्झिँदै सार्की भन्छन्, ‘पहिलो वर्षमै गतिलो आमदानी हात लागेपछि त्यो रकम तिर्न भ्याएँ, बचेको रकम तरकारीखेतीमै लगाएर काम गर्दै गएँ । त्यसपछि पैसाका लागि कसैलाई गुहार्नुपरेको छैन ।’

कृषि ज्ञान केन्द्रबाट सार्कीले व्यावसायिक तरकारीखेतीसम्बन्धी तालिम लिएका छन् । तालिम लिएपछि तरकारीखेती गर्ने आधुनिक तौरतरिका सिकेर उनी निपुण भएका छन् । तरकारीमा वडामै एक्लो किसान भएकाले नगरपालिकाबाट पनि सार्कीले टनेल अनुदानमा प्राप्त गरेका छन् । प्लाष्टिकको टनेलमा उनले तरकारी उत्पादन गर्दै आएका छन् ।

दुई दशक भारतमा काम गरेका सार्की तरकारीखेतीबाटै भारतको भन्दा तेब्बर बढी कमाइ हुन थालेपछि स्वदेशमा काम गर्न थालेको बताउँछन् । कृषि कार्यमा गतिलो कमाइ हुने भएकाले भारतमा रहेका छोरालाई आफूसँगै सघाउन घर बोलाउने सोच रसार्कीको छ । बाह्रै महिना तरकारीखेती गर्दै आएका उनको बारीमा अहिले गोँलभेडा, बन्दा, बोडी, खुर्सानी, मुला, भाण्टा, हरियो मटर लटरम्म फलेको छ ।

हरियो खुर्सानीमात्र एक महिनामा रु २० हजारको बेचेको सार्की बताउँछन् । उनको बारीमा गोँलभेडामात्र रु ५० हजार बढीको उत्पादन भएको छ । सार्की लौका, काँक्रा, तितेकरेला, फर्सीलगायत रोप्ने तयारीमा छन् । श्रीमान्श्रीमती दुवैले काम गर्न नसक्ने भएकाले तीन जना दैनिक ज्यालादारीमा कामदार राखेर काम गराउँदै आएको उनको भनाइ छ ।

उत्पादित तरकारी भने स्थानीय बजारमा सहज रूपमा बिक्री हुने गरेको छ । बजार खोज्दै हिँड्नु नपरेको सार्की बताउँछन् । मौसमीभन्दा बेमौसमी तरकारीमा बढी आम्दानी हुने भएकाले त्यसमा उनले बढी जोड दिँदै आएका छन् । भविष्यको योजना सुनाउँदै सार्कीले तरकारीखेतीलाई विस्तार गरी उत्पादन बढाएर बढी आम्दानी लिने सोच रहेको बताए ।

‘अहिले वर्षमा रु ६ लाखदेखि रु सात लाखसम्म आम्दानी हँुदै आएको छ’, उनले भने, ‘त्यसलाई बढाएर दोब्बर पार्ने योजना छ ।’ अनुदानमा सिँचाइका लागि विद्युतीय मोटर, बारी जोत्न पावरटिलरको व्यवस्थाका लागि सार्की माग गर्छन् ।