लमजुङ :१०२ मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी–१ जलविद्युत् आयोजनाका लागि लक्ष्मी सनराइज बैङ्क लिमिटेडको अगुवाइमा लगानी जुटेको छ। उक्त बैङ्कको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैङ्कहरू र अप्पर मस्र्याङ्दी हाइड्रोपावर कम्पनीबिच लगानी गर्ने सहमति भएको छ ।
लमजुङ जिल्लास्थित मस्र्याङ्दी नदीमा निर्माण गर्ने १०२ मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी–१, जलविद्युत् आयोजनाको कुल लागत २१ खर्ब ४० अर्ब रुपियाँ रहेको छ।
अप्पर मस्र्याङ्दी हाइड्रोपावर–१ ले २०७५ पुस १० गते विद्युत् विकास विभागबाट आयोजना निर्माण तथा विद्युत् उत्पादनको अनुमतिपत्र पाएको थियो। यसका साथै २०८१ पुस ९ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौतासमेत गरिसकेको छ। सो कम्पनीको प्रवर्धकका रूपमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन्।
परियोजना निर्माणका लागि लक्ष्मी सनराइज बैङ्कको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैङ्कले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्धक-संस्थापकको लगानी रहने बताइएको छ।
लक्ष्मी सनराइज बैङ्कको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता सात अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैङ्कमध्ये सहअगुवा ग्लोबल आइएमई बैङ्कको छ अर्ब तथा प्रभु बैङ्कको तीन अर्बसमेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ। आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपछि वार्षिक करिब ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुने छ।