झापा। मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०८२/८३ मा १७ अर्ब ६७ करोड ७२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ७४ करोड ६० लाख रुपैयाँ बढी हो, जसले कार्यालयको राजस्व संकलनमा करिब ११ प्रतिशतको वृद्धि भएको देखाउँछ।
राजस्व बढे पनि सरकारले निर्धारण गरेको १८ अर्ब ८७ करोड ७४ लाख रुपैयाँको लक्ष्य भने पूरा हुन सकेन। कार्यालयले वार्षिक लक्ष्यको करिब ९३ प्रतिशत मात्रै हासिल गरेको जनाएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यही भन्सार कार्यालयले १५ अर्ब ९३ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। पछिल्लो वर्षको वृद्धिले पूर्वी नाकाबाट हुने व्यापारिक गतिविधि विस्तार भएको संकेत गरेको छ।
मेची भन्सार पूर्वी नेपालको सबैभन्दा व्यस्त व्यापारिक प्रवेशद्वारमध्ये एक मानिन्छ। यही नाकाबाट चिया, अलैँची, अदुवा, अम्रिसोको कुचो, छुर्पी लगायत नेपाली कृषिजन्य तथा घरेलु उत्पादन विदेश निर्यात हुने गरेका छन्। यता पेट्रोलियम पदार्थ, कपडा, रासायनिक कच्चा पदार्थ तथा औद्योगिक सामग्री मुख्य रूपमा यही नाकाबाट नेपाल भित्रिने गर्छन्।
व्यापारिक कारोबार विस्तारसँगै राजस्व संकलनमा सुधार देखिए पनि निर्धारित लक्ष्य पूरा हुन नसक्नुले आयातको संरचना, व्यापारको गति र राजस्व व्यवस्थापनमा अझै सुधार आवश्यक रहेको संकेत गरेको छ।






































