नवलपरासी :परासीको सुनवलदेखि बर्दघाटसम्म २२० केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका सूर्यवस्तीस्थित न्यु बुटवल सबस्टेसनबाट बर्दघाट नगरपालिका–५ सम्मको करिब २२ किलोमिटर प्रसारण लाइन एक हप्ताअगाडि परीक्षण गरेर संचालनमा ल्याइएको विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।
यो प्रसारण लाइन संचालनमा आएपछि न्यु बुटवल सवस्टेसनबाट हेटौंडासम्म २२० केभी प्रसारण लाइनको पूर्वाधार तयार भएको छ । विभिन्न जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइनमार्फत न्यु भरतपुर सबस्टेसनमा जोडिने छ । विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा डबल सर्किट प्रसारण लाइन करिब एक अर्बको लागतमा निर्माण भएको हो । यो प्रसारण लाइन निर्माण भएपछि साना तथा ठूला विद्युत् उत्पादनलाई वितरण गर्न सहज हुनेछ ।
यसअघि मंसिरमा यही प्रसारण लाइन संचालनका लागि सुनवल नगरपालिका–१३ सूर्यवस्तीस्थितमा न्यु बुटवल सबस्टेसन संचालनमा आएको थियो । स्टेसनले २ सय २० केभीएसम्मको क्षमताका कुश्मा, भरतपुर, बुटवल र बर्दघाट सबस्टेसनसँग विद्युत् सम्पर्क स्थापित भएको छ । कालिगण्डकी र यस आसपासका नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दाना सब स्टेसनबाट सुरु भएर पर्वत, बाग्लुङ, स्याङ्जा, पाल्पा, रूपन्देही हुँदै १ सय ४० किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन पश्चिम नवलपरासीसम्म विस्तार भएको छ। प्रसारण लाइनले करिब १ हजार २ सय मेगावाट विद्युत् भार बोक्नसक्ने क्षमता राख्नेछ।