काठमाडौं– भदौ पहिलो सातादेखि घटेको अण्डाको मूल्य पुनः वृद्धि हुन थालेपछि उपभोक्ताहरू मारमा परेका छन्। उत्पादन घटेर माग बढेसँगै अण्डाको मूल्य बढ्दा दैनिक उपभोग्य वस्तुमा समेत महँगाइको असर देखिन थालेको छ। 

नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार सोमबारदेखि लागू भएको नयाँ दरले चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन मूल्य ५००, मध्यम ४८५, र एक्सएल ५१५ रुपैयाँ निर्धारण गरिएको छ। साउन मसान्तमा यस्तै मूल्य कायम भए पनि भदौको पहिलो साता अण्डाको दर घटेर ठुलो अण्डा ३६०, मध्यम ३००, र एक्सएल ३७५ मा झरेको थियो। पछिल्ला दुई सातामा मूल्य वृद्धि हुँदा दैनिक उपभोग्य खर्चमा समेत भार थपिएको छ।

OM Sai Pathibhara Hospital

व्यवसायीहरूका अनुसार, उत्पादन घट्नु र माग बढ्नु नै अण्डाको मूल्य बढ्नुको मुख्य कारण हो। पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार, भदौको पहिलो साता दैनिक ३० लाख अण्डा उत्पादन भइरहेकोमा अहिले यो सङ्ख्या घटेर २२ लाखमा पुगेको छ। उत्पादनमा कमी आउँदा मूल्यवृद्धिले उपभोक्ता खर्च बढाएको छ।

कुखुरापालक किसान त्रिलोचन कँडेलले ७५ प्रतिशत किसान विस्थापित भइसकेका कारण उत्पादनमा कमी आएको र बाँकी किसान पनि घाटा थपिएमा व्यवसाय छोड्ने स्थितिमा रहेको बताए। उत्पादन लागतभन्दा कम मूल्यमा अण्डा बेच्नुपर्ने अवस्था आए किसान विस्थापित हुने सम्भावना अझै बढ्ने उनको भनाइ छ। किसानको समस्या बढेसँगै उपभोक्तालाई समेत उच्च मूल्यमा अण्डा खरीद गर्नुपर्ने बाध्यता देखिएको छ, जसले उनीहरूलाई थप आर्थिक बोझमा पारेको छ।