काठमाडौं— चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे ७ अर्ब रुपैयाँभन्दा बढीको विद्युतीय कार, जिप, भ्यान आयात भएको छ ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म कुल ७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ बराबरको ईभी कार, जिप, भ्यान आयात भएको हो । उक्त मूल्यमा कुल ३ हजार २०३ युनिट विद्युतीय कार आयात भएको छ ।
उक्त संख्यामा कार आयात हुँदा सरकारले ४ अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । विभागका अनुसार कात्तिकमा मात्रै ५८३ युनिट ईभी कार आयात भएको छ । त्यस्तै, असोजमा २ हजार १३४ युनिट, साउन र भदौमा ४ सय ८६ युनिट ईभी नेपाल भित्रिएको थियो ।
पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरूको आयात पनि बढ्यो
चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो चौमासिकमा इन्धनबाट चल्ने कारको आयात पनि बढेको छ । भन्सारको तथ्यांकअनुसार पेट्रोल कार, जिप, भ्यान आयात गत वर्षको तुलनामा ५४.२५ प्रतिशतले बढेको हो ।
चार महिनामा २ अर्ब २९ करोड रुपैयाँ बराबरको कुल २ हजार ४६५ युनिट कार आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८६७ युनिट धेरै हो । गत वर्ष ४ महिनामा कुल १ हजार ५९८ युनिट पेट्रोल कार आयात भएको थियो । चालु आवमा कार आयातबाट सरकारले ५ अर्ब ९ करोड रुपैयाँ राजश्व उठाएको छ ।
चालु आवमा कुल कार आयातमा पेट्रोल कारको हिस्सा बढेको छ । ४ महिनामा कुल ५ हजार ६६८ युनिट कार आयात हुँदा आईसीई कारको हिस्सा ४३।४९ प्रतिशत पुगेको छ ।
यस्तै, यो अवधिमा दुईपाङ्ग्रे सवारीसाधनको आयात पनि बढेको छ । विभागकाअनुसार चालु आवको ४ महिनामा १ लाख ६ हजार ७६८ युनिट मोटरसाइकल र स्कुटर आयात भएको हो । चालु वर्षमा गत वर्षको सोही अवधिको तुलनामा दुईपाङ्ग्रे सवारी आयात २५।६८ प्रतिशत अर्थात २१ हजार ८०० युनिट धेरै हो ।
गत वर्ष ४ महिनामा ८४ हजार ८९० मोटरसाइकल र स्कुटर आयात भएको थियो । चालु आर्थिक वर्षमा आर्थिक गतिविधि क्रमशः चलायमान हुँदा दुईपाङ्ग्रे सवारी आयातमा पनि वृद्धि भएको हो । विभागका अनुसार चालु आर्थिक वर्षमा आयात भएका दुईपाङ्ग्रे सवारीमध्ये ८१ प्रतिशत अनएसेम्बल रहेका छन् । ४ महिनामा ८६ हजार ३३९ युनिट अनएसेम्बल दुईपाङ्ग्रे सवारी आयात भएको छ ।
हाल नेपालमा आधा दर्जनभन्दा बढी ब्रान्डका दुइपाङ्ग्रे सवारी एसेम्बल हुन्छ । रोयल इनफिल्ड, बजाज, टीभीएस, यामाहा, हिरो, होन्डा, सीएफमोटोलगायत ब्रान्डका मोटरसाइकलरस्कुटर नेपालमै एसेम्बल हुन्छन् ।
४ महिनामा २० हजार ३५१ युनिट तयारी अवस्थाका मोटरसाइकल र स्कुटर आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । नेपालमा खासगरी भारत, चीनलगायतका देशहरूबाट सवारीसाधन आयात गरिन्छ । पछिल्लो समय चीनतर्फका नाकाहरूमा अवरोध आउँदा विद्युतीय सवारीहरू आउन अप्ठ्यारो परिरहेको व्यवसायीहरूले बताउँदै आएका छन् ।






































