चिसो सुरु भए पनि डेंगु लगायत किटजन्य रोगको जोखिम बढ्दो छ ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार मनसुनपछि लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण सिर्जना हुन्छ । अहिले चिसो सुरु भए पनि डेंगु सङ्क्रमणको जोखिम बढ्ने डा. चालिसेको भनाइ छ ।

देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ११ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । 

OM Sai Pathibhara Hospital

डेंगु के हो ?

डा. चालिसेका अनुसार डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्दछ । उहाँका अनुसार एडिज जातको लामखुट्टे विशेषगरी, सूर्योदयको समय दिउँसो र घाम अस्ताउने (बेलुका) को समयमा सक्रिय हुने गर्छ ।

उनका अनुसार एडिज जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्दछ । उच्च ज्वरो आउनु, जोर्नी तथा मांसपेशी दुख्नु डेंगु सङ्क्रमणका प्रमुख लक्षण हुन् ।

यसबाहेक आँखाको पछाडिको भाग दुख्ने, ज्यान दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, पेटमा गाह्रो हुने जस्ता लक्षण देखिने डा.चालिसे बताउँछन् ।

डेंगुको सङ्क्रमण सबै उमेर समूहका मानिसलाई हुन सक्छ । साना बालबालिका, ज्येष्ठ  नागरिक, दीर्घरोगी, गर्भवती डेंगु भएमा जटिल स्वास्थ्य समस्या निम्तिने डा.चालिसेको भनाइ छ ।

एक पटक डेंगु सङ्क्रमण भएका मानिसमा अर्को पटक डेंगु सङ्क्रमण हुँदा झन् जटिल स्वास्थ्य समस्या निम्तिने उनको भनाइ छ ।  डेंगु अहिलेसम्म कुनै पनि उपचार विधिको विकास नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने प्रमुख उपाय हो । डेंगु भएको बेलामा जथाभाबी औषधीको नखान उनको सुझाव छ ।

उनले भने, 'डेंगु भएको बेलामा औषधी आवश्यक पर्दैन । धेरै जस्ता सङ्क्रमित ज्वरो कम गर्न प्यारासिटामोल र घरमै झेलिलो पोसिलो खानेकुरा खाएर आराम गर्दा निको हुन्छ ।'

यदि जथाभाबी औषधी खाएर हेलचेक्राइँ गरेको जटिल स्वास्थ्य समस्या निम्तने उनले बताए । 

उनका अनुसार गिजालगायतका शरीरका विभिन्न भागबाट रक्तस्राव हुने, अत्यधिक मात्रमा वान्ता हुने, पेट फुल्ने, दुख्ने, सास फेर्न गाह्रो हुने, बेचैनी हुने डेंगु सङ्क्रमणका जटिल स्वास्थ्य समस्या हुन् ।  हेलचेक्राइँ गरेमा बिरामीको मृत्युसमेत हुने भएकाले गम्भीर समस्या देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिन उनको सुझाव छ ।

लामखुट्टेको टोकाइबाट जोगिन पूरा शरीर ढाकिने गरी कपडा लगाउने राति सुत्ने बेलामा झुलको प्रयोग गर्न, लामखुट्टेको धूप बाल्ने, मलम लगाउपर्ने सुझाव चालिसेको छ।

घर वा कार्यालय वरपर पानी जम्न नदिने, खाल्डाखुल्डीहरु पुर्ने र घरआगन सफा राख्ने । लामखुट्टेलाई फुल पार्न नदिनका लागि एउटै ठाउँ भाँडोमा पानी जम्मा गरेर नराख्ने ।