काठमाडौं— बाढी पहिरोले बन्द भएका उत्तरी दुई वटा नाका खुलाउने प्रयास भएको छ । अहिलेलाई अस्थायी रूपमा खुलाएर बाटोमा रोकिएका कन्टेनर गन्तव्यमा पठाउने तयारी भइरहेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले जानकारी दिए । यसका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको कार्कीले बताए । 

उत्तरी चीन जोड्ने मुख्य दुई नाका बन्द भएपछि नेपाली व्यवसायीले आयात गरेका लत्ताकपडा, फलफूललगायतका सरसामान एक हप्तादेखि बाटोमै रोकिएका छन् । उत्तरी नाकाका पुल र सडक भोटेकोशी नदीले बगाएपछि अहिले रसुवागढीतर्फको केरुङ र तातोपानीतर्फको खासा आएका कन्टेनर नेपाल भित्रिन पाएका छैनन् ।

OM Sai Pathibhara Hospital

तातोपानीतर्फको सीमा नजिकैको भोटेकोशीको बेलिब्रिज र कोदारी खोलाको पक्की पुल बाढीले बगाएको छ भने अरनिको राजमार्गको बाह्रबिसेदेखि मितेरीपुलसम्मको २६ किलोमिटरको सडकमा क्षति पुगेको छ । रसुवा नाकाको नेपालतर्फको भू–भागको सडक मर्मत गरेर अस्थायी रूपमा सञ्चालन गरिए पनि चीनको केरुङतर्फको सडक बनाउन समय लाग्ने भएको छ ।

रसुवागढी नाकाको नेपाली भू–भागमा आइसकेका सामान लोड गरेका कन्टेनरहरू पनि ढुक्कसँग काठमाडौं आउन नसकेको र तातोपानी भन्सारमा भएका कन्टेनरहरू पनि उतै रोकिएका कार्कीले बताउनुभयो । खासा र केरुङमा चार सय वटाभन्दा धेरै कन्टेनर गोदाम र सडकमा रोकिएर बसेका व्यापारीहरूको भनाइ छ ।

तातोपानी र रसुवा भन्सार भएर काठमाडौं भित्रिनुपर्ने कन्टेनर एक हप्तादेखि रोकिएर बस्दा फलफूल र मरमसला गुम्सिएर कुहिने र सड्ने अवस्थामा पुगेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले उज्यालोलाई बताउनुभयो । फलफूल सड्न लागेको र दशैँका लागि ल्याइएका लत्ताकपडा पनि उतै रोकिएपछि व्यवसायी थप चिन्तित बनेका छन् ।