काठमाडौं–आज नवरात्रको दोस्रो दिन, भक्तजनहरूले नौ दुर्गामध्येकी दोस्रो देवी, ब्रह्मचारिणीको विधिपूर्वक पूजाआराधना गरिरहेका छन्। धार्मिक मान्यताअनुसार ब्रह्मचारिणी देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ भन्ने विश्वास छ। 

पहिलो दिन घटस्थापनासँगै देवी शैलपुत्रीको पूजा गरिएको थियो भने आज ब्रह्मचारिणी देवीलाई आह्वान गरी पूजा गरिँदैछ। नवरात्रका नौ दिन देवीको आराधना गर्दै दुर्गा सप्तशती, श्रीमद्देवी भागवत लगायतका स्तोत्रहरूको पाठ गरिन्छ। यसरी नौ दिनसम्म देवीको विशेष आराधना गरेपछि विजयादशमीदेखि प्रसाद ग्रहण गर्ने चलन छ।

OM Sai Pathibhara Hospital

ब्रह्मचारिणी देवीलाई मुमुक्षु प्राणीलाई ब्रह्मको बोध गराउने देवी मानिन्छ। देवीको हातमा कमल, अक्षमाला र कमण्डलु हुन्छन्। देशभरका शक्तिपीठहरूमा नवरात्रको अवसरमा भक्तजनहरूको घुइँचो लाग्छ, जहाँ देवीको दर्शन र पूजाआराधनाले मनोकामना पूरा हुने विश्वास रहिआएको छ।