काठमाडौं – अविरल वर्षाका कारण उत्पन्न प्राकृतिक विपत्तिपछि विज्ञहरूले महामारीजन्य रोगहरूको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन चेतावनी दिएका छन्। सरूवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बाढीपहिरोले पानीका मुहान प्रदूषित हुनसक्ने र पानीजन्य रोग, जस्तै झाडापखाला र हैजाको खतरा बढ्न सक्ने बताए। साथै, किटजन्य रोगहरू, जस्तै डेङ्गु र मलेरियाको जोखिमसमेत उच्च हुने उनको भनाइ छ । 

डा. पुनले विशेषगरी हैजाको जोखिम अझै कायम रहेको र किटजन्य रोगको संक्रमण मनसुनको समयमा बढी हुने बताउँदै समयमै सतर्कता अपनाउन सुझाव दिए। उनले स्क्रब टाइफस तथा अन्य रोगहरूको जोखिमसमेत रहेको र समयमै उद्धार नभएका व्यक्तिहरूलाई बाहिरी क्षेत्रमा बस्नुपर्ने अवस्था आउँदा रुघाखोकीजस्ता रोगहरू सर्नसक्ने चेतावनी दिए ।

OM Sai Pathibhara Hospital

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूलाई उद्धार गरिएका घाइतेहरूको निःशुल्क उपचार गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आकस्मिक सेवाहरूलाई २४सै घण्टा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएका छन् । 

मन्त्रालयले प्रादेशिक तथा स्थानीय स्वास्थ्य केन्द्रहरूसँग समन्वय गर्दै आपतकालीन अवस्थामा स्वास्थ्य सेवा सुनिश्चित गर्न हटलाइन नम्बर १११५ र एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।