काठमाडौं— आज विश्व अल्जाइमर्स दिवस : ‘डिमेन्सिया र अल्जाइमर्सलाई जानौं’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा विभिन्न चेतनामूलक कार्यक्रम गरी अल्जाइमर्स दिवस मनाउने गरिन्छ । अल्जाइमर्स रोगको एक प्रमुख कारण डिमेन्सिया हो । जसलाई हामी बिर्सिने रोग भनेर पनि बुझ्ने गर्छौँ । बुढेसकालमा धेरैलाई सताउने अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो । 

OM Sai Pathibhara Hospital

नेपालमा अल्जाइमर्सका बिरामीको यकिन तथ्याङ्क नभए पनि जनचेतना र स्वास्थ्य सेवामा आएको सुधारसँगै यो रोगका बिरामी पहिचान हुने क्रम भने बढ्दो छ । नेपालमा झन्डै १० वर्षअघि ७८ हजार मानिस बिर्सिने समस्याबाट ग्रसित रहेकोमा सन् २०३० मा यो सङ्ख्या दोब्बर हुने अनुमान गरिएको छ । 

बिर्सने समस्याले अस्पताल पुगेर जाँच गर्नेमध्ये ६० देखि ८० प्रतिशत मानिसमा अल्जाइमर्स देखिन्छ । विभिन्न अध्ययनले देखाएअनुसार जेनेटिक्सका साथै धूमपान, मोटोपना, उच्च रक्तचाप, मधुमेह र टाउकोमा पटकपटक लागेका चोटले बुढ्यौलीसँगै अल्जाइमर्स रोग लाग्न सक्ने जोखिम बढ्दो छ । 

यो रोगको बारेमा जानकारी नहुँदा बिरामी ढिला गरी अस्पताल पुग्ने गरेकोले उपचार गर्न कठिनाइ पर्ने गरेको डाक्टरहरु बताउँछन् । शुरुवाती चरणमा नै थाहा पाएपनि धेरैजसोले उपचारको आवश्यकता महसुस नगर्दा रोग बिस्तारै बढ्ने र थप जटिलता आउने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा कार्यरत अल्जाइमर्स रोगका विशेषज्ञ डा.रमेश कँडेल बताइन । 

अल्जाइमर्स दीर्घरोग हो, जसले मष्तिष्कमा बिस्तारै क्षय गराउँछ । यसबाट बिरामीमा स्मरण शक्तिका साथसाथै सोच्ने क्षमता, अरू काममा समस्या आउने गर्छ । मुख्य लक्षण नै बिर्सने समस्या भएकाले मानिसको दैनिक दिनचर्यामा नै बाधा हुन्छ । यो रोग लागिसकेपछि पूर्ण रूपमा निको पार्न पनि सकिँदैन । त्यसैले हरेक कुरामा परिवारका सदस्य र आफन्तको नै भर पर्नुपर्छ । 

अझ त्यसमाथि अरू पनि दीर्घ रोग छन् भने त अझ बढी निगरानी गर्नुपर्ने डा. कँडेलको सुझाव छ।