काठमाडौं— सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज पूर्वगृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको वयान लिने भएको छ । 

लामिछानेको वयान अघि पूर्वडीआईजी छविलाल जोशीको वयान लिने तयारी समितिको छ । 

OM Sai Pathibhara Hospital

दुई ठूला सहकारी संस्थाको बचत रकम लगानी गरिएको तत्कालीन गोर्खा मिडिया नेट्वर्कमा रवि लामिछानेका साझेदार रहेका जोशीलाई वयान लिन आज ११ बजे बोलाएको समितिले जनाएको छ ।

उनको वयान सकिएलगत्तै पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई वयानका लागि बोलाइएको समिति सभापति सूर्य थापाले बताएका छन् ।

गोर्खा मिडिया नेट्वर्कमा छवि, रवि लामिछाने र हाल फरार रहेका गितेन्द्रबाबु राई (जीबी) का साझेदार थिए । उनको वयान लिएपछि मात्रै रास्वपा सभापति लामिछानेको वयान लिने संसदीय छानबिन समितिले यसअघि नै तयारी गरेको थियो ।

जोशीकी आमाको निधन भएकाले वयानका लागि समितिले पर्खिएको थियो । यसअघि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई भदौ २ गते नै सोधपुछ गर्ने कार्यसूची थियो ।

तर आमाको काज किरिया भदौ ६ गते सकिएपछि त्यसको भोलिपल्ट छविले वयानमा आउने बताएका थिए । उनीलगत्तै रविको पनि वयान लिने तयारी समितिले गरेको हो। जोशीको वयान नलिई रविलाई सोध्न प्रमाण नपुग्ने भएकाले म्याद सारिएको थियो । समितिले भदौ १० गतेसम्म सोधपुछ सक्ने गरी तयारी गरेको छ ।