काठमाडौं— कानुनले २० वर्ष नपुगी विवाह गर्न निषेध गरे पनि देशमा कम उमेरमै घरजम गर्नेको संख्या ठूलो रहेको तथ्यांकले देखाएको छ।

राष्ट्रिय जनगणना, २०७८ को बालबालिकासम्बन्धी तथ्यांकीय प्रतिवेदनले ७४ हजार २ सय ७२ जनाले १० देखि १७ वर्षको उमेरमै विवाह गरेको देखाएको हो। यसले देशमा बालविवाहको समस्या गम्भीर रहेको देखाएको छ।

OM Sai Pathibhara Hospital

तथ्यांकअनुसार २० देखि २४ वर्ष उमेर पुगेका विवाहित बालबालिकालाई सोधिएको विवाहको उमेरसम्बन्धी प्रश्नअनुसार १४.१ प्रतिशत उत्तरदाताले आफ्नो विवाह १८ वर्ष नपुग्दै भएको उत्तर दिएका छन्। जसमध्ये २१.९ प्रतिशत बालिका छन्। यसले प्रत्येक पाँचमध्ये एक बालिकाको १८ वर्षको उमेर नपुग्दै विवाह भइरहेको देखिएको छ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को आयोजना तथा सेभ द चिल्ड्रेन र प्लान इन्टरनेसनलको सहयोगमा आयोजना गरेको ‘बालविवाह अन्त्यसम्बन्धी भए गरेको प्रयास र आगामी योजना’बारे सरोकारवालासँग आयोजना गरेको छलफलमा सहभागी विज्ञहरूले बालबालिकासम्बन्धी विद्यमान तथ्यांकले भविष्यमा झन् खतरा ल्याउनसक्ने औल्याएका छन्।

राष्ट्रिय मानवअधिकार आयोगका सहसचिव नवराज सापकोटाले बालविवाह अन्त्यका लागि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पहल भए पनि बालविवाह विद्यमान रहेको बताए । बालविवाहलाई धेरैले सामान्वयरूपमा लिने गरेको भन्दै उनले मानवअधिकारको गम्भीर हनन् भएको बताए ।