काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ। यो निर्वाचनमा सहभागी भए रास्वपा पहिलोपटक स्थानीय निर्वाचन लड्नेछ। मिति तय नगरे पनि मंसिरमा उपनिर्वाचन गर्ने गरी निर्वाचन आयोगले तयारी थालेको छ। 

केन्द्रीय कार्यालयमा बुधबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचनलक्षित पार्टी गतिविधि तीव्र बनाउने निर्णय लिएको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले उपनिर्वाचनमा भाग लिने बताउँदै त्यसैको तयारीका लागि गतिविधि तीव्र बनाउने निर्णय गरेको बताए । 

OM Sai Pathibhara Hospital

आयोगको तथ्यांकअनुसार स्थानीय तहमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष दुई, वडाध्यक्ष २८ गरी स्थानीय तहमा ३४ पद रिक्त छ। 

स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निष्कर्षमा पुगेको रास्वपाले ७५३ मध्ये काठमाडौं महानगरसहित चार सय पालिकामा सांगठनिक संरचना विस्तार गरेको छ। कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार रास्वपाले अहिलेसम्म कर्णालीबाहेक ६ वटा प्रदेश, ७७ जिल्ला, १४८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, चार सय पालिका र करिब दुई हजार वडासम्म आफ्नो सांगठनिक संचरना विस्तार गरेको छ। 

तीमध्ये ७० प्रतिशत स्थानीय पालिका कमिटीहरू राम्रोसँग चलायमान रहेको बुर्लाकोटीले बताए। कर्णाली प्रदेश विघटन गरेर नयाँ कमिटी बनाउने तयारीमा रहेको रास्वपाको केन्द्रीय समिति अहिले ६२ सदस्यीय छ।