लमजुङ- लेदोसहितको पहिरो खसेपछि लमजुङको डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ । 

आज बिहान बेँसीसहर नगरपालिका- १ दलालमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

सडकमा पहिरो आउनेक्रम जारी रहेकाले तत्काल सडक खुलाउन सम्भव नरहेको उनको भनाइ छ । 

गएरातिदेखि निरन्तर परेको पानीले सडक माथिबाट लेदोसहित ढुङ्गामाटो झरेर सडक अवरुद्ध हुँदा यात्रुहरु विचल्लीमा परेका छन् । 

अहिले पहिरो खसेको ठाउँमा यसअघि पनि पटकपटक पहिरो झरेर सडक अवरुद्ध हुदै आएको थियो । 

सडक अवरुद्ध भएपछि बेँसीसहरदेखि तनहुँ, काठमाडौँ, पोखरा, चितवन लगायतका स्थानमा आवतजावत गर्ने सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।