काठमाडौं-विश्वव्यापी महामारीका रुपमा फैलिदै गएको मंकीपक्सको जोखिम न्यूनीकरण गर्न सरकारले तयारी थालेको छ ।
अफ्रिकाको कंगोमा मंकीपक्स भाइरसका अधिक घातक संस्करण क्लेड १ बीका बिरामीहरू बढेपछि नेपालमा पनि यसको जोखिम हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले जोखिम न्यूनीकरणको तयारी थालेको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मंकीपक्सको विषयमा विज्ञसँग सुझाव लिइसकेको र जानकारीका लागि कल सेन्टर १११५ सञ्चालनमा रहेको जानकारी दिए ।
साथै, हवाई तथा स्थल नाकाहरुमा रहेका हेल्थ डेस्क र सरुवा रोगहरुको निगरानी (सर्बिलेन्स) गर्ने तीनै तहका निकायहरुलाई सतर्क गराएको उनको भनाइ छ ।
अफ्रिकाको कंगोमा हालसम्म मंकीपक्स (एमपक्स) भाइरसबाट ५ सय ४८ जनाको मृत्यु भइसकेको र छिमेकी देशहरूमा पनि द्रूत रूपमा फैलिने क्रममा छ । विश्व स्वास्थ्य संगठनले अफ्रिकामा भइरहेको एम्पक्सको वृद्धिलाई १४ अगस्ट २०२४ मा विश्वव्यापी जनस्वास्थ्य आपतकालका रुपमा घोषणा गरेको छ । नेपालमा गत वर्ष एक ६० वर्षीय विदेशी महिलामा यो रोगको संक्रमण पुष्टि भएको थियो ।
के हो मंकीपक्स ?
बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मंकीपक्सको संक्रमण हुने गर्छ । यो रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ । रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा- विमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्यालको सम्पर्कबाट, भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।
यो रोग संक्रमण भएपछि ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रंथिहरू बढ्ने हुन्छ । आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्छ ।
मंकीपक्सका लक्षण सामान्यतया २ देखि ४ हप्तामा हराएर जान्छन् । बच्चाहरूमा भने गम्भीर समस्या देखा पर्न सक्र्ने विज्ञहरुको भनाई छ । यसले कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा पनि गम्भीर समस्या निम्त्याउन सक्ने बताइएको छ ।