धनगढी— सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ। बर्सातका बेला यो रोगको सङ्क्रमण बढ्ने गरेको छ। प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार, हालसम्म २२९ जनालाई डेङ्गु सङ्क्रमण भएको छ। 

सबैभन्दा बढी डोटीमा ५३ जनालाई डेङ्गु लागेको जनाइएको छ। कैलालीमा ४७, अछाममा ४५, कञ्चनपुरमा ३४, दार्चुलामा १८, बाजुरामा १६, डडेलधुरामा आठ, बैतडी र बझाङमा चार/चार जना डेङ्गु सङ्क्रमित भएका छन्। 

OM Sai Pathibhara Hospital

गर्मी र बर्सातको सिजनमा लामखुट्टेको वृत्तिविकास बढ्ने गरेकाले डेङ्गुको सङ्क्रमण बढ्ने गरेको छ। डेङ्गु सङ्क्रमणको जोखिम बढी रहने बेला भएको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताए । 

एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसलाई डेङ्गु लाग्ने गर्दछ। डेङ्गु सार्ने लामखुट्टेले घाम उदाएको दुई घण्टापछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टाअगाडिको समय घाम लागेको बेला बढी टोक्ने गरेको जनाइएको छ। 

यो रोग लागेमा एक्कासि उच्च ज्वरो आउने, मांसपेशी, टाउको दुख्ने, बान्ता हुने, थकान लाग्ने जस्ता लक्षण देखा पर्ने गर्दछ। डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न आवश्यक रहेको जनाइएको छ। झुल लगाएर मात्रै सुत्ने, घर वरिपरि सरसफाइ गर्ने, भाँडाकुँडामा लामो समयसम्म पानी जम्न नदिने जस्ता कार्य गर्न आवश्यक  छ।