काठमाडौं–देशभर २५ जना हैजाका बिरामी फेला परेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले काठमाडौँ, ललितपुर र कैलालीमा हैजाका बिरामी फेला परेको जानकारी दिएका छन् । ललितपुरमा १६, काठमाडौँमा १, र कैलालीमा ८ जना हैजाका बिरामी छन्।

हैजा एक अत्यन्त संक्रामक र शीघ्र फैलिने झाडापखाला हो, जसको मुख्य लक्षणमा पातलो पानीजस्तो दिसा आउने, वाकवाकी लाग्ने, र वान्ता हुनेजस्ता रहेका छन् । सङ्क्रमण गम्भीर अवस्थामा पुगेमा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाब पहेँलो हुने, रक्तचाप कम हुने, र बेहोस हुन्छन् । 

OM Sai Pathibhara Hospital

हैजाका बिरामीलाई तुरुन्त अस्पताल नपुर्‍याए ५० प्रतिशत मृत्युको सम्भावना रहन्छ । सुरक्षित रहनका लागि झिँगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खाद्यपदार्थ सेवन गर्नुहुँदैन् । पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र व्यक्तिगत सरसफाइमा ध्यान दिन महाशाखाले अनुरोध गरेको छ ।