काठमाडौँ । देशभर आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ आज सो दिवस मनाउन लागिएको हो ।

कुष्ठराेगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ । सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि नयाँ बिरामी देखिने गरेका छन् । 

यो रोग माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको संक्रमणले लाग्ने गर्छ । कुष्ठरोग सर्ने र नसर्ने गरी दुई किसिमको हुन्छ । कुष्ठराेगकाे समयमै उपचार हुन नसके राेगीहरू अपांग हुने र ज्यान समेत जाने जाेखिम हुन्छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । यो रोगको उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको मध्यमबाट सर्ने महाशाखाले जनाएको छ । 

रोग लागेको सुरुको अवस्थामा रोगको उपचार गरे अरूलाई नसर्नुका साथै पूर्णरुपमा निको हुन्छ । नेपालमा पछिल्लो समय वार्षिकरुपमा औसतमा २२ सय जनामा यो रोग फेला पर्छ । गत वर्ष मात्रै २५ सय २२ जना नयाँ बिरामी फेला परेको शाखाले जनाएको छ ।