काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ ।

OM Sai Pathibhara Hospital

द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

बली, हलि एवम् गोरु पूजा

भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनेर भट्याउने चलन चलेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ ।

यसैगरी वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हलि तिहार वा अपभ्रंश भई हलतिहार पनि भनिन्छ ।

म्हः (आत्म) पूजा    

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ ।

भक्तपुरमा आत्मपूजा पनि हिजो नै गरिएको जनाइएको छ । भक्तपुर नगरपालिकाको निर्णयअनुसार यसो गरिएको हो । देशभरका धेरै नेवार समुदायले भने आज मङ्गलबार नेपाल संवत्को नयाँ वर्ष र म्हः (आत्म) पूजा गर्दैछन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवत्को नयाँ वर्ष र आत्म (म्हः) पूजा आज गर्नुपर्ने जनाएको छ ।