मधेस प्रदेश । आत्महत्या गर्न दुरुत्साहनको गरेकाे मुद्दामा रौतहट जिल्ला अदालतले एक व्यक्तिलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्लाको गुजरा नगरपालिका वडा नम्बर ४ का ३३ वर्षीय प्रबेज उर्फ मजिला भन्ने राजेश राजबंशीलाई आफ्नै श्रीमतीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

गत बैशाख २४ गते गुजरा नगरपालिका वडा नम्बर ४ की २५ वर्षिया नुरजहा खातुनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेपछि उनका दाजु अब्बास देवानले राजबंशी विरुद्ध आत्महत्या गर्न दुरुत्साहनको मुद्दा दर्ता गरेका थिए । सोही मुद्दामा आइतबार भएको थुनछेक बहसमा ३ नम्बर इजालशका न्यायधीश बाबुकाजी बानियाको इजलाशले राजबंशीलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको रौतहट जिल्ला अदालत गौरका श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

उनका अनुसार करिब १२ वर्ष अगाडि राजबंशीसँग बिहे गरेकी नुरजहाका साढे चार र साढे दुइ वर्षकी २ छोरी रहेका छन् । नुरजहालाई राजबंशीले छोरा नजन्माएको, वर्याप्त दाइजो नल्याएको लगायत विषयमा शारिरिक तथा मानसिक यातना दिने गरेको आरोप देवानको छ ।

‘मेरी बहिनीलाई पटकपटक कुटपिट गरेपछि बहिनीले प्रहरी चौकी हरिनगरमा उजुरी पनि दिएकी थिइन्,’ उनले भने, ‘प्रहरी चौकी तथा स्थानीय भद्रभलाद्मीको रोहबरमा धेरै पटक मिलापत्र पनि भएकै हो । तर पनि बहिनीलाई यातना दिने क्रम रोकिएन र अन्ततः उनले आत्महत्याको बाटो रोज्न बाध्य भइन् ।’ उनले अभियुक्तलाई कानुनसम्मत कडा सजाय हुनुपर्ने माग पनि गरेका छन् ।

अधिवक्ता दिलिप कोइरालाका अनुसार मुलुकी अपराध संहिता, २०७४ का दफा (१८५) मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन नहुने र यदि गराएमा त्यस्ताे कसुर गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।