काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । संवैधानिक परिषद् बैठक बस्नु एक दिन अघि सोमबार दुई नेताबीच भेटवार्ता हुनुलाई महत्वका साथ हेरिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा कुराकानीको विषय सार्वजनिक भएको छैन । तर उनीहरूबीच संसदको अवरोध हटाउने र मंगलबार प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकको विषयमा छलफल भएको स्रोतले बतायो । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली बीच भेटवार्तामा मुख्यतः सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउनेका साथै संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन  २० देखि अनिवार्य अवकाशमा जान लागेका छन् । यसअघि आइतबार पनि ओली, प्रचण्ड र शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो ।