काठमाडौँ / सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने भएको छ ।  सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा थापालाई मुख्यमन्त्री उम्मेदवार बनाउने समझदारी भएको हो । ‘कोशीको मुख्यमन्त्रीमा गठबन्धनका तर्फबाट कांग्रेसको प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने सल्लाह हामीले दिएका छौं,’ बैठकमा सहभागी एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भने । 

नेकपा (एमाले) का हिक्मत कार्की नेतृत्वको सरकार विश्वासको मत पाउन नसकेपछि ढलेको थियो । त्यसपछि को मुख्यमन्त्री बन्ने भन्नेमा सत्ता गठबन्धनका दलहरूबीच प्रदेशमा कुरा मिल्न नसकेपछि माओवादी केन्द्र र कांग्रेसका नेताहरू काठमाडौं आएका थिए । कोशीको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि दाबी गरेका थिए ।