काठमाडौं / उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा निस्किएका छन् । चीनको सिचुवान प्रान्तमा पाँच दिनसम्मको भ्रमणका लागि मंगलबार राति सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री श्रेष्ठ त्यसतर्फ गएका हुन् । भ्रमण प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल, उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ लगायत छन् ।

श्रेष्ठ आज ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’ को स्वागत भोजमा सरिक हुने उनको सचिवालयले जनाएको छ।  बिहीबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’ को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्नेछन् भने दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र अन्तर्राष्ट्रिय मित्र सहर सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्नेछन् । 

OM Sai Pathibhara Hospital

सोही दिन साँझ चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रिभोजमा सरिक हुनेछन् । श्रेष्ठले शुक्रबार सिचुवान विश्वविद्यालयका नेतृत्वसँग भेटघाट गर्नेछन् । त्यहाँ अध्ययनरत चाइनिज, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ ।  त्यसपछि उनले विश्वविद्यालयको ‘हाइड्रोलिक्स’ र ‘माउन्ट रिभर इन्जिनियरिङ’ प्रयोगशालाको अवलोकन गर्नेछन्। दिउँसो सिचुवान एयरलाइन्स र प्रान्तीय लगानी समूहका अधिकारीहरूलाई भेट्ने तय भएको छ।

शनिबार बिहान उनले भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’को अवलोकन भ्रमण गर्नेछन्। त्यसदिन दिउँसो दुजियाङ्गानस्थित चीनकै पुरानो सिँचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ। शनिबार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत उनी स्वदेश फर्किनेछन्।