काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव डा गङ्गालाल तुलाधरले केही वामपन्थी दलको समन्वयमा आगामी असार १ गते समाजवादी केन्द्र घोषणा गरिने बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले समाजवादी प्रेस सङ्गठन नेपालको नवनिर्वाचित कार्यसमितिलाई शुभकामना तथा बधाई दिन आज आयोजित कार्यक्रममा उनले अहिले केन्द्रमा आबद्ध आफ्नो पार्टीलगायतका दलहरूबीच कार्यगत एकता गरिने जानकारी दिए ।

पार्टी कार्यालयमा सचिवसमेत रहनुभएका नेता तुलाधरले लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन केन्द्रको महत्व हुने उल्लेख गर्दै तुलाधरले केन्द्रमा रहने दलबीच लामो गृहकार्य गरी राष्ट्रियता, जनजीविका, वैज्ञानिक समाजवादका विषयमा साझा दृष्टिकोणमा समझदारी कायम भएपछि एकता हुने बताए ।

OM Sai Pathibhara Hospital

पार्टीले अवलम्बन गरेको आदर्श, नीतिले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको महत्व रहेको बताउँदै उनले राजनीतिमा अब पुस्तान्तरणको खाँचो औँल्याए । पार्टी केन्द्रीय सदस्य मोहन गौतमले सभ्य र समृद्ध समाज निर्माणका लागि सञ्चार जगत्ले राम्रो र सकारात्मक सन्देशलाई प्रवाह गर्नुपर्नेमा जोड दिए ।

युनियनका अध्यक्ष सुदेश पराजुलीले गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषय नागरिको मौलिक अधिकार भएकाले यसमा राज्यले लगानी बढाउनुपर्ने बताए । सङ्गठनका नवनिर्वाचित अध्यक्ष विश्वमणि सुवेदीले श्रमजीवीको हक, हित र अधिकारका क्षेत्रमा थप क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।