काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफनो पार्टीको विद्यानमा रहेको ७० वर्षे उमेरहद हटाउने निर्णय लिएको छ । यो निर्णय पार्टीको सचिवालय बैठकले गरेको हो ।

एमालेको सचिवालयको पछिल्लो बैठक जेठ १९ गते बसेको थियो । यही बैठकले यस्तो निर्णय गरेको एमालेका एक पदाधिकारीले  बताए ।

यसलाई पार्टीको केन्द्रीय समिति र विद्यान महाधिवेशनमा लगेर पारित गराउन बाँकी छ । तर सचिवालयले उमेरहद हटाउने निर्णय गरेसँगै अब अध्यक्ष केपी ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खुल्ला भएको छ ।

त्यस्तै एमालेका अहिलेका धेरैजसो पदाधिकारीलाई फेरि एमालेको नेतृत्वमै रहन पाउने गरी बाटो खुल्ला गरिएको छ ।

एमालेको काठमाडौंमा भएको नवौँ महाधिवेशनबाट नेताहरुको उमेर हद ७० वर्ष राखिएको थियो।  चितवनमा सम्पन्न भएको १० औँ महाधिवेशनमा पनि यही व्यवस्थाअनुसार नेताहरु चुनाव लडेका थिए। 

केन्द्रीय समिति बैठक र सचिवालय बैठकबाट गरिएका निर्णय तल्लो तहसम्म पठाउन जारी गरिने अन्तर पार्टी निर्देशनमा उमेर हद हटाउन व्यवस्था उल्लेख छ।

वैशाख २८ र २९ गतेको केन्द्रीय कमिटी बैठकमा ओलीले अन्य पार्टीबाट ७० वर्षमाथिका नेताहरु प्रवेश गर्न सक्ने बताउँदै विद्यमान व्यवस्था संशोधन गर्नुपर्ने उल्लेख गरेका थिए।

त्यसपछि नेकपा एकीकृत समाजवादीबाट नेताहरु मुकुन्द न्यौपाने र प्रेमबहादुर सिंह लगायत एमाले प्रवेश भएका थिए। उनीहरु दुवै ७० वर्ष नाघिसकेका छन्।