काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले अस्पतालहरूले प्रदान गर्ने बहिरङ्ग सेवा (ओपीडी) का लागि १५ दिनभित्रै अनलाइन टिकेटिङको व्यवस्था गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएका छन् । आज शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री बस्नेतले विभागलाई निर्देशन दिएका हुन् ।
मन्त्री बस्नेतले सबै संघीय अस्पतालहरूमा ओपीडी अनलाइन टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउन यसअघि पनि निर्देशन दिइसकेका जानकारी दिए । ‘सबै संघीय अस्पतालहरूमा ओपीडीमा अनलाइन टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउने र प्रादेशिक अस्पतालहरूमा सोही नियम लागू गर्नका लागि प्रादेशिक स्वास्थ्य हेर्ने मन्त्रालयले अनुरोध गर्न निर्देशन दिइएको छ,’ मन्त्री बस्नेतले भने ।
उनका अनुसार अनलाइन टिकेट व्यवस्था गरिदा अस्पतालहरूमा हुने भिड कम हुनाका साथै अनलाइनको पहुँचमा रहेकाहरूलाई सहज हुने विश्वास लिइएको छ । यस्तै, उनले स्वास्थ्य सेवा विभागलाई खरिद एवम् वितरण प्रक्रियालाई थप व्यवस्थित गर्न र सबै अस्पतालको उपकरण जाँच गर्न निर्देशन दिएका छन् ।
स्वास्थ्य मन्त्रालयले दुई वर्षसम्म पनि प्रयोग नभएका स्वास्थ्य उपकरणहरुलाई फिर्ता लिई आवश्यकता अनुसार अर्को अस्पतालमा पठाउने भएको छ । कुनै अस्पतालमा दुई वर्षसम्म पनि प्रयोग नभएका वा प्रयोग हुन नसक्ने स्वास्थ्य उपकरणहरुलाई स्वास्थ्य सेवा विभागले फिर्ता लिई आवश्यकता अनुसार अर्को अस्पताललाई मन्त्रालयको सहमतिमा हस्तान्तरण गरिने जानकारी दिएका हुन् ।
त्यस्तै उनले स्थान नभएर वा जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पताललाई स्पष्टीकरण सोधिने जानकारी दिए । अब स्वास्थ्य उपकरणहरु खरिद गर्दा न्यूनतम सेवा मापदण्डले औँल्याए अनुसारका सामग्री मात्रै मन्त्रालयको समन्वयमा खरिद गर्ने, प्रत्येक अस्पताललाई आगामी दुई वर्षको कार्ययोजना बनाएर पेश गर्न लगाउने र सो अनुसार आवश्यक उपकरण मात्रै खरिद गर्ने मन्त्री बस्नेतले बताए ।
उनले स्वस्थ्य सेवा विभागलाई खरिद एवम् वितरण प्रक्रियालाई थप व्यवस्थित गर्न र सबै अस्पतालको उपकरण जाँच गर्न निर्देशन दिएका छन् । मन्त्री बस्नेतले सबै संघीय अस्पतालमा ओपीडी अनलाइन टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउन पनि निर्देशन दिएको बताए ।
मन्त्री बस्नेतले आफ्नो जेनेभा भ्रमणका क्रममा स्वास्थ्य क्षेत्रसम्बन्धी काम गरिरहेका विभिन्न मित्र राष्ट्रहरु, दाताहरु तथा सम्बद्ध निकायहरुसँग पनि भेट गर्ने र नेपालको स्वास्थ्य क्षेत्रको विकास र विस्तार एवम् सुधारका बारेमा छलफल हुने जानकारी दिए ।