काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन । आज नियुक्त गरिने मन्त्रीको शपथ आज अपराह्न तीन बजेको लागि तोकिएको प्रधानमन्त्रीको प्रेस विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिए।

पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । त्यसबखत ६ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हालेका  थिए।

OM Sai Pathibhara Hospital

मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच छलफल जारी नै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको थियो ।

आज प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणलाई लक्षित गरी परराष्ट्रमन्त्री नियुक्त गर्न लागिए पनि मन्त्रिपरिषदलाई पूर्णता भने यही वैशाख १० गते हुने उपनिर्वाचन पछि दिने तयारी प्रधानमन्त्री प्रचण्डको छ ।

तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ । सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि सरकारको पूर्णता जरुरी रहेको भन्दै प्रधानमन्त्रीले सत्तारुढ दलका शीर्ष नेतालाई आग्रह गरेका छन। 

काँग्रेसले थप मन्त्रीको नाम नदिँदा सरकारले पूर्णता प्राप्त गरेको छैन । प्रधानमन्त्री दाहाल काँग्रेसबाट थप चार मन्त्री र अन्य दललाई थप दुई मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने तयारीमा छन।