काठमाडौं : मन्त्रिपरिषद्‌ बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्‍ने निर्णय गरेको छ। सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्‍ने निर्णय गरेको हो।

यसअघि, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको सडक र सदन सबैतर्फबाट सरकारलाई चौतर्फी दबाब आएपछि सरकार निर्णय फिर्ता गर्न बाध्य भएको हो।

OM Sai Pathibhara Hospital

रासायनिक मलमा कृषकलाई दिएको अनुदान कटौती गरेर मूल्य बढाएको भन्दै विभिन्न राजनीतिक दलका किसान संगठनहरूले सडकमा चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका थिए। त्यस्तै, आइतबारको संसद्‌ बैठकमा समेत प्रमुख प्रतिपक्ष दलहरू तथा विभिन्न सांसदहरूले सरकारले मलमा अनुदान कटौती गरेको विषयमा चर्को आलोचना गरेका थिए।

सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि मात्रै आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको छ।